New KCC City Clinic —  New Baneshwor → is now open.

विदेशमा क्यान्सरको संका लाग्यो : के गर्ने, के नगर्ने?

बिदेशमा काम गर्दै गर्नुहुन्थ्यो, र क्यान्सर पत्ता लाग्यो। अब परिवारले के गर्ने?

Guide to cancer for migrant workers

एउटा नसोचेको फोन आउँछ — अझ कहिलेकाहीँ त मध्यराति।

"मलाई त क्यान्सर भएको संका छ रे । म त भोलि नै नेपाल फर्कने सोच्दैछु ।"

त्यो एकै क्षणमा घरको परिवारमाथि चिन्ताको पहाड खस्छ। एकातिर रोगको डर, अर्कोतिर ऋण र भविष्यको अन्योल। के गर्ने, कता जाने, कसलाई सोध्ने—केही पत्तो हुँदैन। कतार, साउदी, यूएई वा मलेसियामा पसिना बगाइरहेका हजारौँ नेपाली दाजुभाइ-दिदीबहिनी र उहाँहरूका परिवारले बर्सेनि यो नियति भोग्दै आएका छन्। कम्पनीको जाँचमा गम्भीर रोग देखिएपछि कहिलेकाहि उपचार नै सुरु नगरी वा बीचैमा "मेडिकल्ली अनफिट" भनेर घर फर्काइन्छ।

"पाँच वर्ष कतारमा पसिना बगाएँ। एक्कासि रगतको क्यान्सर को संका देखियो भनेर हप्तादिनमै टिकट काटेर पठाइदिए। घर आइपुग्दा हातमा एउटा रिपोर्टबाहेक केही थिएन।" — एक फर्किएका कामदारको अनुभव यस्तो थियो।

यस्तो कठिन परिस्थितिमा सुरुवाती केही दिन परिवारले कसरी सम्हालिने? कुन गल्ती नगर्ने? अनि सरकारबाट के-कस्तो सहयोग पाइन्छ? यहाँ सरल भाषामा केही व्यावहारिक कुराहरू समेटिएको छ।

१. सुरुमै ध्यान दिनुपर्ने कुराहरू: के नगर्ने?

अत्तालिएर जुनसुकै अस्पताल नदौडिनुहोस्:

डरको भरमा सुरुमै जहाँ पायो त्यहीँ पुग्दा समय र पैसा दुवै खेर जान्छ। क्यान्सरको उपचारमा सुरुको सही निर्णयले नै अगापछिको दिशा तय गर्छ। त्यसैले १-२ दिन बुझेर मात्र सही ठाउँ र विशेषज्ञ छान्नुहोस्।

विदेशका रिपोर्ट फालेर सुरुदेखि सबै जाँच नदोहोर्‍याउनुहोस्:

नेपाल फर्किएपछि धेरैले सबै स्क्यान वा बायोप्सी फेरि गराउँछन्। तर, विदेशमा गरिएका धेरैजसो रिपोर्ट यहाँ पनि मान्य हुन्छन्। नयाँ जाँच गर्नुअघि डाक्टरलाई पुराना रिपोर्ट देखाएर परामर्श लिनुहोस्।

scan all reports

कम्पनीको बीमाले सबै खर्च व्यहोर्छ भनेर ढुक्क नबस्नुहोस्:

धेरैजसो कम्पनीको बीमाले सामान्य उपचार मात्र समेट्छ। क्यान्सर जस्तो जटिल र लामो उपचार प्रायः बीमाभित्र पर्दैन वा थोरै मात्र पर्छ। नेपाल आइसकेपछि यो कुरा थाहा पाउँदा ठूलो आर्थिक धक्का लाग्न सक्छ।

रोग नलुकाउनुहोस्:

लाज वा डरका कारण (खासगरी बिरामी महिला हुनुहुन्छ भने) कुरा थिच्ने बानी हुन्छ। ढिलाइले रोग अझ जटिल बनाउँछ। जति चाँडो सही ठाउँमा पुग्नुहुन्छ, उपचारका विकल्पहरू त्यति नै धेरै हुन्छन्।

२. सुरुवाती दुई हप्ता: कसरी अघि बढ्ने?

  • विदेशमै छँदा वा बाटोमा नै हातमा भएका सबै रिपोर्टको स्पष्ट फोटो वा स्क्यान मोबाइलमा सुरक्षित राख्नुहोस्।
  • सम्भव भए ती रिपोर्टहरू पहिले नै नेपालका डाक्टर वा हस्पिटललाई WhatsApp मार्फत पठाएर प्रारम्भिक सल्लाह (Second Opinion) लिनुहोस्।
  • कम्पनी वा एजेन्सीसँग बीमाले के-के कभर गर्छ र कतिसम्म दिन्छ, लिखित रूपमै बुझ्नुहोस्।

पहिलो हप्ता (नेपाल आइपुगेपछि)

  • क्यान्सर रोग विशेषज्ञलाई भेटेर सबै पुराना कागजपत्र देखाउनुहोस्।

-यदि वैदेशिक रोजगार कल्याण कोष वा सामाजिक सुरक्षा कोष (SSF) को सुविधा लिन योग्य हुनुहुन्छ भने, दाबी प्रक्रिया तुरुन्तै सुरु गरिहाल्नुहोस्। ढिला गर्दा म्याद नाघ्न सक्छ।

दोस्रो हप्ता र त्यसपछि

  • डाक्टरको सल्लाह अनुसार उपचार सुरु वा निरन्तरता दिनुहोस्।
  • सरकारी राहत, कोषको सहयोग र आफ्नो बचत हिसाब गरेर आर्थिक योजना स्पष्ट बनाउनुहोस्।

३. के-के तयारी गर्ने?

कागजातहरू सुरक्षित राख्नुहोस्: बायोप्सी रिपोर्ट, सीटी/एमआरआई स्क्यान (सीडी वा पेनड्राइभमा भए झनै राम्रो), डाक्टरले लेखिदिएको प्रेस्क्रिप्सन, चलाएको औषधिको नाम/मात्रा र श्रम स्वीकृति (Labor Permit) को प्रतिलिपि राख्नुहोस । फर्किनुअघि नै रिपोर्ट पठाउनुहोस्: टिकट कुरेर बस्दाको समयमै नेपालमा रिपोर्ट पठाएर डाक्टरको राय लिन सकिन्छ। उपचार बीचमै रोकिएको छ भने नआत्तिनुहोस्: विदेशमा केही साइकल किमोथेरापी वा अन्य उपचार भइसकेको छ भने, नेपाल आएर फेरि १ नम्बर साइकलदेखि सुरु गर्नु पर्दैन। कुन औषधि चलेको थियो थाहा भएपछि त्यही क्रमलाई यहाँ निरन्तरता दिन सकिन्छ। बिरामीलाई पनि निर्णयमा सहभागी गराउनुहोस्: धेरैजसो परिवारले बिरामीलाई केही नबताई आफैँ निर्णय गर्छन्। तर बिरामीलाई पनि आफ्नो अवस्था र उपचारका विकल्पबारे थाहा हुनु मानसिक रूपमा बलियो हुन मद्दत पुग्छ।

४. सरकारी सहयोग: वैदेशिक रोजगार कल्याण कोष र SSF

वैदेशिक श्रम स्वीकृति लिएर गएका हरेक कामदारको वैदेशिक रोजगार कल्याण कोषमा स्वतः बीमा भएको हुन्छ। विदेशमा गम्भीर बिरामी परेका वा दुर्घटनामा परेका कामदारलाई यो कोषबाट आर्थिक सहायता मिल्छ।

  • कहाँ दाबी गर्ने? विदेशमै हुनुहुन्छ भने नेपाली दूतावासमार्फत वा नेपाल फर्किसकेपछि वैदेशिक रोजगार बोर्ड (FEPB, नयाँ बानेश्वर) मा सोझै आवेदन दिन सकिन्छ।

  • सामाजिक सुरक्षा कोष (SSF): यदि विदेश जानुअघि नेपालमा औपचारिक क्षेत्रमा काम गर्दा SSF मा कम्तीमा ३ महिना योगदान गर्नुभएको थियो भने, त्यहाँबाट पनि स्वास्थ्य उपचार सुविधा दाबी गर्न सकिन्छ।

Frequently Asked Questions

कम्पनीको बीमाले क्यान्सरको पूरा खर्च व्यहोर्छ?

प्रायः व्यहोर्दैन। धेरैजसो कामदार बीमा साधारण बिरामी वा दुर्घटनाका लागि मात्र हुन्छ। बीमाको सीमा कति हो, कम्पनीसँग लिखित रूपमा माग्नु नै उत्तम हुन्छ।

रिपोर्ट अरबी वा अङ्ग्रेजीबाहेक अन्य भाषामा छ भने के गर्ने?

जुन भाषामा छ, त्यही ल्याउनुहोस्। अनुवाद गराइराख्न पर्दैन; डाक्टरहरूले प्रयोगशालाका मान (Lab Values) र स्क्यान हेरेर स्थिति बुझ्न सक्नुहुन्छ।

कल्याण कोषमा कहिलेसम्म दाबी गरिसक्नुपर्छ?

यसको निश्चित समय-सीमा हुन्छ। नेपाल फर्कनेबित्तिकै आवश्यक कागजात जुटाएर दाबी प्रक्रिया सुरु गरिहाल्नुपर्छ।

नेपालमा डाक्टरकहाँ जाँदा सबै जाँच तयार हुनैपर्छ?

पर्दैन। हातमा भएका जति रिपोर्ट लिएर जानुहोस्, बाँकी चाहिने जाँचहरू यहाँ आएर पनि गर्न सकिन्छ।

KCC (काठमाडौँ क्यान्सर सेन्टर) ले कसरी सहयोग गर्छ?

२४ घण्टामै सेकेन्ड ओपिनियन: विदेशबाटै WhatsApp मा पठाइएका रिपोर्ट हेरेर २४ घण्टाभित्र प्रारम्भिक चिकित्सकीय सल्लाह।

उपचारको निरन्तरता: विदेशमा सुरु भएको उपचारलाई अगाडि बढाउने (दोहोर्‍याएर सुरु गर्नु नपर्ने)। पारदर्शी लागत अनुमान: बीमा वा कल्याण कोषबाट आउने रकमबाहेक नेपालमा लाग्ने खुद खर्चको स्पष्ट विवरण।

सहज सञ्चार: सबै परामर्श र प्रक्रिया नेपाली भाषामै हुने भएकाले कुराकानी गर्न सहज।

रिपोर्ट पठाउन वा थप जानकारीका लागि:

{{cta}}